कुनै सार्वभौम मुलुकको सरकारले आफ्ना नागरिकलाई विदेश यात्रा गर्न तथा यात्राका क्रममा वाहकलाई संरक्षण प्रदान गर्न निजको परिचय सहित जारी गरेको आधिकारीक कागजातलाई राहदानी भनिन्छ । वाहकलाई उसको परिचय दिने हुँदा अन्तर्राष्ट्रिय यात्राका लागि अन्यथा व्यवस्था भएकोमा वाहेक राहदानी अनिवार्य हुन्छ । राहदानी ऐन, २०२४ अनुसार “राहदानी भन्नाले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई त्यस्तो भ्रमण गर्न अनुमति प्रदान गरी त्यस्तो भ्रमणमा जाने देशहरू तथा समय तोकी नेपाल सरकारबाट दिइने लिखत सम्झनुपर्छ ।” भनी परिभाषित गरिएको छ । राहदानी नियमावली, २०६७ अनुसार कुटनीतिक (रातो रङ्ग), विशेष (निलो रङ्ग) र साधारण (हरियो रङ्ग) गरी तीन प्रकारका राहदानी हुन्छन् । यस अतिरिक्त विभागले यात्रा अनुमतिपत्र (कालो रङ्ग) पनि जारी गर्दछ ।