विदेशमा रहेका नेपालीहरुको हकमा आफू बसोवास गर्ने मुलुकस्थित नेपाली नियोग वा उक्त मुलुकमा नेपाली नियोग नभएमा सो मुलुक हेर्ने जिम्मेवारी तोकिएको नेपाली नियोगमा राहदानी आवेदन फाराम पेश गर्नु पर्दछ । विदेशस्थित नेपाली नियोगहरुको सम्पर्कका लागि परराष्ट्र मन्त्रालयको वेव पेज https://mofa.gov.np मा लगईन गर्नुहोला । विदेश स्थित नियोगमा आवेदन पेश गर्दा अपनाउनु पर्ने प्रक्रिया र आवश्यक कागजात विभिन्न मुलुकहरुमा रहेका नेपाली नियोगपिच्छे केही फरक पर्न सक्ने भएकोले राहदानी आवेदन पेश गर्ने वारेमा सम्बन्धित नियोगबाट जानकारी लिन उपयुक्त हुन्छ ।
नियोगहरुमा आवेदन गर्दा सामान्यतः देहाय अनुसारका कागजात सहित आवेदक स्वयं उपस्थित हुनु पर्ने हुन्छ । तर Live Enrollment System लागू नभएका र भौगोलिक रुपमा टाढा रहेका आवेदकहरुको हकमा नियोगहरुले हुलाक सेवा लगायत अन्य सुरक्षित माध्यमबाट आवेदन पठाउन सक्ने व्यवस्था गर्न सक्छन् । नियोगहरुमा आवेदन पेश गर्दा निम्न कागजातहरु पेश गर्नु पर्दछ ।
- रीतपूर्वक भरिएको आवेदन फाराम २ प्रति वा प्रत्यक्ष दर्ता प्रणाली लागु गरिएका नियोगको हकमा रीतपूर्वक भरिएको अनलाईन दरखास्त फाराम १ प्रति,
- नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको प्रतिलिपि १ प्रति,
- पुरानो राहदानीको सक्कल र प्रतिलिपि एक प्रति,
- स्वयं उपस्थित नहुने आवेदकको हकमा आवेदक उक्त देशमा रहेको प्रमाणजनाउने कागजात (जस्तै, रेसिडेन्ट कार्ड, कम्पनी परिचयपत्र, entry stamp सहितको भिसाको प्रति आदि)
- ६ महिना भित्र खिचेको मापदण्ड मिलेको फोटो ४ प्रति, (फोटोको मापदण्डका लागि अनुसूचि १ मा हेर्नु होला) । तर प्रत्यक्ष दर्ता प्रणाली लागू गरिएका नियोगको हकमा अतिरिक्त फोटो पेश गर्नु पर्नेछैन ।
- राहदानी दस्तुर (दस्तुर सम्बन्धी जानकारी अनुसूचि २ मा दिईएको छ ।)
- नाबालिगको हकमा सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालयबाट जारी गरिएको नाबालक परिचय पत्र र निजको बाबु/आमाको नागरिकताको प्रमाण पत्र र सोको प्रतिलिपि सहित वाबु/आमा मध्ये कुनै एक स्वयं उपस्थित हुनु पर्दछ ।
तर विदेशमै जन्मिएका नेपाली आमा-बावुका सन्तानको हकमा जन्मदर्ताको प्रमाणपत्र (Birth Registration Certificate) लाई मुख्य आधार मानी राहदानी जारी गरिने हुँदा राहदानीको लागि आवेदन पेश गर्दा निम्न कागजातहरु आवश्यक पर्दछन् ।
- रित पूर्वक भरिएको दरखास्त फाराम २ प्रति,
- आमा बाबु दुवैजनाको नागरिकताको प्रतिलिपि,
- आमा बाबु दुबैजनाको नेपाली राहदानीको प्रतिलिपि,
- आमा बाबुको विवाह दर्ताको प्रमाणपत्र,
- नावालकको जन्मदर्ताको सक्कल प्रति र सोको प्रतिलिपि १ प्रति,
- ६ महिना भित्र खिचेको तोकिएको मापदण्ड बमोजिमको रंगिन फोटो ४ प्रति, (फोटोको मापदण्डका लागि अनुसूचि १ मा हेर्नु होला) ।
- अन्य आवश्यक कागजातहरु (अनुसूचि ३ मा हेर्नु होला) ।