विद्युतीय राहदानीको अनलाइन अग्रिम दर्ता (Pre-enrollment) फाराम भर्न निम्न प्रक्रिया अपनाउनु पर्दछः-
(क) राहदानीका लागि सर्वप्रथम अनलाइनबाट फाराम भरी निर्धारित तरिका अनुसार मिति र समय बुक गर्नु पर्दछ । फाराम भर्नका लागि यहाँ क्लिक गर्नु होस।
(ख) तत्पश्चात् पाँचवटा विकल्पहरूः
(a) पहिलो पटक राहदानी लिन (First Issuance - New)
(b) म्याद सकिएको राहदानी नवीकरण गर्न (Passport Renewal)- (पुरानै विवरण यथावत रहने बहाल अवधि थप भई नयाँ राहदानी जारी हुने)
(c) हराएको/चोरिएको राहदानीको सट्टा मा राहदानी लिन (Passport Replacement-Lost/Stolen)
(d) बिग्रेको/च्यातिएको राहदानीको सट्टामा (Replacement - Damaged)
(e) विवरण त्रुटि भएको (Modification - Data Correction) - (पहिले राहदानीमा भएको भन्दा कुनै विवरण सच्याउन/परिवर्तन गर्न परेमा)
सो विकल्प मध्ये कुन चाहिने हो एउटा विकल्पको छनौट गर्नु पर्नेछ । जस्तैः
यस अघि यन्त्र वाचक राहदानी(एमआरपी)वा विद्युतीय राहदानी लिई सकेको भएमा नवीकरण र नलिएको भए “पहिलो पटक राहदानी लिन” भन्ने छान्नुहोस्। साथै पहिला हस्तलिखित राहदानी मात्र लिएको भएमा पनि पहिलो पटक राहदानी लिन भन्ने विकल्प छान्नु पर्नेछ।
(क) कार्यालयको त्रुटि भई पुनः राहदानी बनाउनुपर्ने भएमा उक्त त्रुटि भएको राहदानी भर्दा जे गरिएको थियो सोही अनुसार गर्ने ।
(ख) आवेदकको त्रुटि भई पुनः राहदानी बनाउनुपर्ने भएमा Modification- Data Correction भन्ने छनौट गर्नु पर्नेछ।
(ग) नेपाली सेना, नेपाल प्रहरी लगायतका निकायमा कार्यरत रही शान्ति मिशनमा जानको लागि ग्राटिश (Gratis) सुविधामा यन्त्र वाचक राहदानी प्राप्त गरेका तर हाल सो राहदानी आफ्नो साथमा नभएका आवेदकले राहदानी नम्बर आवेदन फाराममा उल्लेख गरी म्याद सकिएको राहदानी नवीकरण गर्न (Renewal) भन्ने विकल्प छान्नु पर्नेछ।
(घ)अफिसियल र कूटनीतिक राहदानी लिएकाले साधारण राहदानी बनाउँदा आफ्नो अफिसियल र कूटनीतिक राहदानीको नम्बर उल्लेख गर्नु नपर्ने भएकोले त्यसलाई बेवास्ता (Ignore) गरी उपयुक्त विकल्प छान्नु पर्नेछ।
(ग) तत्पश्चात् ३४ वा ६६ कति पेजको राहदानीका लागि आवेदन गर्ने हो सो को छनौट गरी Next थिच्नुपर्नेछ।
(घ) त्यस पछि कुन स्थानबाट आवेदन दिने हो सो को छनौट गर्नु होस । विदेश उल्लेख गर्दा 'Other' भन्ने विकल्प छानी आफू जन्मिएको देश छनौट गर्नुहोस् । आवेदन फाराममा चरण बद्ध रूपमा सबै विवरणहरू भर्ने र तोकिएका कागजात समेत अपलोड गर्ने । नोटः कागजात अपलोड गर्दा सक्कल कागजात स्क्यान गरी 1 MB वा सो भन्दा कम आकारको बनाइ फाराम भर्नु अगाडी तयार गर्नु होला । फाराम भर्दा आवश्यक कागजातको लागि यहाँ क्लिक गर्नु होस।
(ङ) सम्पूर्ण फाराम भरिसकेपछि भरिएको सबै विवरण आफूले चाहे वा पेस हुने कागजात बमोजिम भए नभएको रुजू गरी त्यसलाई (Apply मा क्लिक गर्ने।
(च) फाराम बुझाई सके पछि PDF आफै स्वतः Download हुन्छ साथै Manually उक्त भरेको फाराम डाउनलोड गर्न सकिन्छ। Download फारामको डिजिटल प्रति आफूसँग सुरक्षित राख्नुहोस्। उक्त फाराम प्रिन्ट गरी निर्धारित समयमा दर्ता केन्द्रमा जानुहोस्। प्रिन्ट गर्ने सुविधा नभएमा तपाइको मोवाइल फोनमा सुरक्षित गरी त्यसलाई लिएर जाँदा पनि हुन्छ। मोवाइलमा लिएर आउँदा सक्कल फाराम लिएर आउनु होला। (Screenshot होइन)
-पुनश्चः राहदानी आवेदनमा त्रुटि भएमा पुनः शुल्क तिरी नयाँ राहदानी आवेदन दिनु पर्ने भएकोले राहदानी आवेदनमा विवरण भर्दा होसियारी पूर्वक सही सूचना भर्नु होस । सकभर आफै भर्नुहोस् र अरूले सहयोग गरेका छन् भने विवरण आफै रुजू गर्न नभुल्नू होला।
- साथैः एक पटक फाराम बुझाए पछि तपाइँलाई कुनै त्रुटि भएको थाहा भयो भने फोटो खिच्ने समयमा अनुरोध गरी सच्याउन सकिन्छ । विवरण सच्याए पछि फाराममा दस्तखत गर्नु अघि राम्रोसँग रुजू गर्नु होला । तर फोटो खिचेर फारामलाई अन्तिम स्वीकृति दिए पछि भने सच्याउन सकिने छैन । त्यस पछि त्रुटि भएको थाहा भयो भने राहदानी रद्द गरी सबै प्रक्रिया पुनः सुरुबाटै गर्नु पर्ने हुन्छ।
राहदानी आवेदन फाराम भर्दा निम्न अनुसार विवरण उल्लेख गर्नुहोसः
(१) Given name/नामः नामको पहिलो र बीचको नाम अर्थात् थर बाहेकको सबै नाम लेख्नु पर्नेछ।
- याद गर्नुहोस् नाम/थर उल्लेख गर्दा अक्षर बाहेक अरू उल्लेख गर्न सकिने छैन । साथैः नाम बाहेक अन्य चिनारी (जस्तै Dr., Mr., Ms) उल्लेख गर्नु हुँदैन।
(२) Surname/थर: आवेदकको नेपाली नागरिकता प्रमाणपत्र/नाबालिग परिचयपत्र अनुसारको थर (जस्तै थापा, यादव, आलम आदि)
- यदी एक भन्दा बढी थर (जस्तै पौडेल क्षेत्री, खड्का परियार) भएमा सबै थर लेख्नु होस ।
- थरको बीचमा बिन्दु(.) भएमा बिन्दु बाहेकको थर लेख्नु होस (जस्तै जी.सी भएमा GC वा Gici)
- थर छैन भने नाम जे छ सोही लेख्नु होस।
(३) Place of Birth/जन्मस्थान: आवेदकको नागरिकता/नाबालक परिचयपत्रमा उल्लिखित जन्मस्थान भर्नु पर्नेछ। नेपालमा जन्मिएका निवेदकले जिल्लाको नाम र विदेशमा जन्मिएका निवेदकले आफू जन्मिएको देशको नाम भर्नु पर्नेछ। विदेश उल्लेख गर्दा 'Other' भन्ने विकल्प वा जन्मिएको देश छनौट गर्नु पर्नेछ।
(४) Nationality/राष्ट्रियताः 'NEPALI' भर्नुपर्दछ। यात्रा अनुमतिपत्रको हकमा राष्ट्रियता फरक भएमा सोही अनुसार भर्नुपर्नेछ ।
(५) Date of Birth/जन्म मितिः AD: यस खण्डमा नागरिकता/नाबालक परिचयपत्र अनुसारको जन्म मितिलाई रूपान्तरण गरी इश्वी संवतमा लेख्नु पर्दछ। नागरिकतामा वर्ष मात्र उल्लेख गरिएको रहेछ भने राष्ट्रिय परिचय पत्र अनुसारको जन्म मिति वा वर्ष फरक नपर्ने गरी हालको राहदानीमा उल्लिखित जन्म मिति लेख्नु पर्दछ । B.S. :- यस खण्डमा नागरिकता/नाबालक परिचयपत्र अनुसारको जन्म मिति लेख्नु पर्दछ।
याद गर्नुहोस् यस अघि जारी राहदानीमा त्रुटि हुन गएको रहेछ भने त्यसलाई सच्चाई लेख्नु पर्दछ।
(६) Sex/ लिङ्गः- निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भए अनुसार पुरुषले 'M' महिलाले 'F' तथा अन्यले 'x' भर्नु पर्दछ।
(७) Address/ठेगानाः निवेदकको नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रमा उल्लेख भएको वा बसाइ सराइ गरेको भएमा सोही अनुसारको नेपालको ठेगाना उल्लेख गर्ने । बसाइँ सराइ गरी ठेगाना परिवर्तन भएकोमा बसाइँ सराइको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नु पर्ने छ । विवाहित महिलाको हालको ठेगाना कायम गर्दा विवाहदर्ता पेस गर्नु पर्नेछ।
ठेगाना अन्तर्गतका उप-खण्डहरू (7A., 7B., 7C., 7D. र 7E.) भर्दा माथि उल्लेख भए अनुसार प्रदेश, जिल्ला, पालिका, वडा नम्बर, सडक वा टोलको नाम भएमा सो समेत क्रमै सँग लेख्नु पर्नेछ ।
(८) Email/इमेल: आवेदकको इमेल (Email) ठेगाना उल्लेख गर्नुपर्नेछ।
राहदानी तयार भएको वा अस्वीकृत भएको जानकारी इमेल मार्फत गराइने भएकोले उपलब्ध भएसम्म आफ्नो इमेल (Email) लेख्नु होला।
(९) Phone No./फोन नं.: आवेदकको फोन नं. Country Code सहित उल्लेख गर्नु पर्नेछ। आवेदक विदेशमा भएमा उक्त स्थानमा आवेदकको फोन उल्लेख गर्न सकिने छ। विकल्पका रूपमा परिवारका अन्य सदस्य वा नजिकका व्यक्तिको फोन नम्बर राख्न सकिने छ। यो फोनमा राहदानी तयार भएको वा अस्वीकृत भएको जानकारी गराइनेछ।
(१०) Citizenship/Minor Identity No./नागरिकता/नाबालक परिचयपत्र नं. : 10A:यसमा आवेदकको नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालक परिचयपत्रको नम्बर भर्नु पर्नेछ। यस अघि जारी राहदानीमा नागरिकता नम्बर त्रुटि हुन गएको रहेछ भने त्यसलाई सच्चाई लेख्नु पर्नेछ।
नागरिकताको वा नाबालक परिचयपत्रको नम्बर उल्लेख गर्दा यदि दिएको अङ्क अटेन भने जति वटा अङ्क नअट्ने बायाँ तर्फका त्यति वटा अङ्क हटाउनु पर्दछ । अर्थात् यस खण्डमा १४ अङ्क मात्र अटाउने भएकोले दायाँबाट क्रमशः हुने १४ वटा अङ्कलाई उल्लेख गर्नु पर्ने छ । उदाहरणका लागि ०७२-३१२-१३७९२/४३२७९६ नम्बरको नेपाली नागरिकता वा नाबालक परिचयपत्र भएको निवेदकले जम्मा १४ वटा मात्र नम्बर अट्न सक्ने खाली कोठा भएको भागमा ३१२१३७९२४३२७९६ मात्र भर्नु पर्नेछ।
10B: जारी मिति (वि. सं.) नागरिकता प्रमाणपत्र/नाबालक परिचयपत्र जारी भएको मिति लेख्नु पर्नेछ। सुरुमा नागरिकता लिएको बाहेक अन्य जिल्लाबाट वा अन्य समयमा प्रतिलिपि नागरिकता/नाबालक परिचयपत्र लिएको भएमा पनि सुरुमा जुन जिल्लाबाट नागरिकता/नाबालक परिचयपत्र जारी गरेको हो सोही मिति उल्लेख गर्नुपर्नेछ।
10C: Place of Issue/जारी स्थानः नागरिकता प्रमाणपत्र/नाबालक परिचयपत्र जारी भएको जिल्लाको नाम लेख्नु पर्नेछ। सुरुमा नागरिकता लिएको बाहेक अन्य जिल्लाबाट प्रतिलिपि नागरिकता/नाबालक परिचयपत्र लिएको भएमा पनि सुरुमा जुन जिल्लाबाट नागरिकता/नाबालक परिचयपत्र जारी गरेको हो सोही स्थान उल्लेख गर्नुपर्नेछ।
विदेशमा जन्मिएका नेपाली बाबुआमाका नवजात सन्तानको नाबालक परिचयपत्र नबनाएको भएमा नियोगबाट उपलब्ध जन्म दर्ता वा अस्थायी नम्बर, मिति तथा नेपाली कूटनीतिक नियोग रहेको सहरको नाम उल्लेख गर्नु पर्दछ।
(११) National Identity No/राष्ट्रिय परिचयपत्र नम्बरः राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नु पर्नेछ।
(१२) Latest Passport or Travel Document No./पछिल्लो राहदानी वा यात्रा अनुमतिपत्र नं. :- (12A) पहिले राहदानी वा यात्रा अनुमतिपत्र लिएको भए सो को नम्बर लेख्ने। पहिले एक भन्दा बढी राहदानी/यात्रा अनुमतिपत्र लिएको भएमा पछिल्लो राहदानी/यात्रा अनुमतिपत्रको नम्बर उल्लेख गर्नुपर्नेछ। तर हस्त लिखित राहदानी मात्र छ भने सोको नम्बर लेख्नु पर्दैन ।
(12B) Date of Issue A.D./जारी मिति ई. सं. :- पछिल्लो राहदानी वा यात्रा अनुमतिपत्र जारी भएको मिति।
((12C) Place of Issue/जारी स्थान :- पछिल्लो राहदानीको जारी स्थान लेख्नु पर्दछ। जिल्ला प्रशासन कार्यालयबाट जारी भएकोमा जिल्लाको नाम, ईलाका प्रशासन कार्यालयबाट जारी भएको भए इलाकाको नाम, राहदानी विभागबाट जारी भएको भए राहदानी विभाग तथा विदेश स्थित नियोगबाट जारी भएको भए नियोग रहेको स्थान उल्लेख गर्नुपर्नेछ।
(१३) Father’s Full name/बुबाको नाम, थरः- नेपाली नागरिकता प्रमाणपत्रमा उल्लेख भए अनुसारको आफ्नो बुबाको पूरा नाम, थर उल्लेख गर्नुपर्नेछ।
(१४) Mother's Full name/आमाको नाम, थरः- नेपाली नागरिकता प्रमाणपत्रमा उल्लेख भए अनुसारको आफ्नो आमाको पूरा नाम, थर उल्लेख गर्नुपर्नेछ।






