विद्युतीय राहदानीको अनलाइन अग्रिम दर्ता (Pre-enrollment) फाराम भर्न निम्न प्रक्रिया अपनाउनु पर्छ,-
(क) राहदानीका लागि सर्वप्रथम अनलाइनबाट फाराम भरी निर्धारित तरिका अनुसार मिति र समय बुक गर्नु पर्दछ । फाराम भर्नका लागि यहाँ क्लिक गर्नु होस ।
(ख) तत्पश्चात् चारवटा विकल्पहरू
(a) पहिलो पटक राहदानी लिन (New)
(b) म्याद सकिएको राहदानी नवीकरण गर्न (Renewal)
(c) हराएको/चोरिएको राहदानीको सट्टमा राहदानी लिन (Replacement-Lost/Stolen)
(d) बिग्रेको राहदानीको सट्टामा (Damaged) देखिने छन् ।
सो विकल्प मध्ये कुन चाहिने हो एउटा विकल्पको छनौट गर्नु पर्नेछ । जस्तैः
यस अघि यन्त्र बाचक राहदानी(एमआरपी) वा विद्युतीय राहदानी लिई सकेको भएमा नवीकरण र नलिएको भए “पहिलो पटक राहदानी लिन” भन्ने छान्नुहोस् । साथै पहिला हस्तलिखित राहदानी मात्र लिएको भएमा पनि पहिलो पटक राहदानी लिन भन्ने विकल्प छान्नु पर्नेछ ।
(क) कार्यालयको त्रुटि भई पुनः राहदानी बनाउनुपर्ने भएमा उक्त त्रुटि भएको राहदानी भर्दा जे गरिएको थियो सोही अनुसार गर्ने ।
(ख) आवेदकको त्रुटि भई पुनः राहदानी बनाउनुपर्ने भएमा नवीकरण भन्ने छनौट गर्ने ।
(ग) नेपाली सेना, नेपाल प्रहरी लगायतका निकायमा कार्यरत रही शान्ति मिशनमा जानको लागि ग्राटिश सुविधामा यन्त्र वाचक राहदानी प्राप्त गरेका तर हाल सो राहदानी आफ्नो साथमा नभएका आवेदकले राहदानी नम्बर आवेदन फाराममा उल्लेख गरी म्याद सकिएको राहदानी नवीकरण गर्न (Renewal) भन्ने विकल्प छान्नु पर्नेछ ।
(घ)अफिसियल र कूटनीतिक राहदानी लिएकाले साधारण राहदानी बनाउँदा आफ्नो अफिसियल र कूटनीतिक राहदानीको नम्बर उल्लेख गर्नु नपर्ने भएकोले त्यसलाई बेवास्ता (Ignore) गरी उपयुक्त विकल्प छान्नु पर्ने छ ।
(ग) तत्पश्चात् ३४ वा ६६ कति पेजको राहदानीका लागि आवेदन गर्ने हो सो को छनौट गरी Proceed button थिच्ने ।
(घ) त्यस पछि कुन स्थानबाट आवेदन दिने हो सो को छनौट गर्नु होस । विदेश उल्लेख गर्दा Other भन्ने विकल्प छानी आफू जन्मिएको देश छनौट गर्नुहोस् । आवेदन फाराममा चरण बद्ध रूपमा सबै विवरणहरू भर्ने र तोकिएका कागजात समेत अपलोड गर्ने । नोटः कागजात अपलोड गर्दा सक्कल कागजात स्क्यान गरी 300 kb वा सो भन्दा कम आकारको बनाइ फाराम भर्नु अगाडी तयार गर्नु होला । फाराम भर्दा आवश्यक कागजातको लागि यहाँ क्लिक गर्नु होस ।
(ङ) सम्पूर्ण फाराम भरिसकेपछि भरिएको सबै विवरण आफूले चाहे वा पेश हुने कागजातबमोजिम भए नभएको रुजू गरी त्यसलाई सुरक्षित (Save) गर्ने र अनलाइन पेस गर्ने ।
(च) फाराम बुझाई सके पछि Download PDF भन्ने विकल्प आउने छ, उक्त फाराम डाउनलोड गर्नुहोस् । Download फारामको डिजिटल प्रति आफूसँग सुरक्षित राख्नुहोस् । उक्त फाराम प्रिन्ट गरी निर्धारित समयमा दर्ता केन्द्रमा जानुहोस् । प्रिन्ट गर्ने सुविधा नभएमा तपाइको मोवाइल फोनमा सुरक्षित गरी त्यसलाई लिएर जाँदा पनि हुन्छ । मोवाइलमा लिएर आउँदा सक्कल फाराम लिएर आउनु होला (screenshot होइन ) ।
-पुनश्चः राहदानी आवेदनमा त्रुटि भएमा पुनः शुल्क तिरी नयाँ राहदानी आवेदन दिनु पर्ने भएकोले राहदानी आवेदनमा विवरण भर्दा होसियारी पूर्वक सही सूचना भर्नु होस । सकभर आफै भर्नुहोस् र अरूले सहयोग गरेका छन् भने विवरण आफै रुजू गर्न नभुल्नू होला ।
- साथैः एक पटक फाराम बुझाए पछि तपाइँलाई कुनै त्रुटि भएको थाहा भयो भने फोटो खिच्ने समयमा अनुरोध गरी सच्याउन सकिन्छ । विवरण सच्याए पछि फाराममा दस्तखत गर्नु अघि राम्रोसँग रुजू गर्नु होला । तर फोटो खिचेर फारामलाई अन्तिम स्वीकृति दिए पछि भने सच्याउन सकिने छैन । त्यस पछि त्रुटि भएको थाहा भयो भने राहदानी रद्द गरी सबै प्रक्रिया पुनः सुरुबाटै गर्नु पर्ने हुन्छ ।
राहदानी आवेदन फाराम भर्दा निम्न अनुसार विवरण उल्लेख गर्नुहोसः
(१) Surname/थर: आवेदकको नेपाली नागरिकता प्रमाणपत्र/नाबालिग परिचयपत्र अनुसारको थर (जस्तै थापा, यादव, आलम आदि)
- यदी एक भन्दा बढी थर (जस्तै पौडेल क्षेत्री, खड्का परियार) भएमा सबै थर लेख्नु होस ।
- थरको बीचमा बिन्दु(.) भएमा बिन्दु बाहेकको थर लेख्नु होस (जस्तै जी.सी भएमा GC वा Gici)
- थर छैन भने नाम जे छ सोही लेख्नु होस ।
(२) Given name/नामः नामको पहिलो र बीचको नाम अर्थात् थर बाहेकको सबै नाम लेख्ने ।
- याद गर्नुहोस् नाम/थर उल्लेख गर्दा अक्षर बाहेक अरू उल्लेख गर्न सकिने छैन । साथैः नाम बाहेक अन्य चिनारी (जस्तै Dr., Mr., Ms) उल्लेख गर्नु हुँदैन ।
(३) Place of Birth/जन्मस्थान: आवेदकको नागरिकता/नाबालिग परिचयपत्रमा उल्लिखित जन्मस्थान भर्ने । नेपालमा जन्मिएका निवेदकले जिल्लाको नाम र विदेशमा जन्मिएका निवेदकले आफू जन्मिएको देशको नाम भर्ने । विदेश उल्लेख गर्दा Other भन्ने विकल्प छानी आफू जन्मिएको देश छनौट गर्नुहोस् ।
(४) Nationality/राष्ट्रियताः NEPALI भर्नुपर्ने । यात्रा अनुमतिपत्रको हकमा राष्ट्रियता फरक भएमा सोही अनुसार भर्नुपर्ने ।
(५) Date of Birth/जन्म मितिः 5A A.D.:- यस खण्डमा नागरिकता/नाबालिग परिचयपत्र अनुसारको जन्म मितिलाई रूपान्तरण गरी इश्वी संवत्मा लेख्ने । नागरिकतामा वर्ष मात्र उल्लेख गरिएको रहेछ भने राष्ट्रिय परिचय पत्र अनुसारको जन्म मिति वा वर्ष फरक नपर्ने गरी हालको राहदानीमा उल्लिखित जन्म मिति लेख्ने । 5B B.S. :- यस खण्डमा नागरिकता/नाबालिग परिचयपत्र अनुसारको जन्म मिति लेख्ने ।
याद गर्नुहोस् यस अघि जारी राहदानीमा त्रुटि हुन गएको रहेछ भने त्यसलाई सच्चाइ लेख्नु होस् ।
(६) Sex/ लिङ्गः- निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भए अनुसार पुरुषले M महिलाले F तथा अन्य ले x भर्नु पर्दछ ।
(७) Citizenship or Permit No./नागरिकता वा अनुमति नं. : यसमा आवेदकको नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालिग परिचयपत्रको नम्बर भर्नु पर्नेछ । यस अघि जारी राहदानीमा नागरिकता नम्बर त्रुटि हुन गएको रहेछ भने त्यसलाई सच्चाइ लेख्ने ।
नागरिकताको वा नाबालिग परिचयपत्रको नम्बर उल्लेख गर्दा यदी दिएको अङ्क अटेन भने जति वटा अङ्क नअट्ने बायाँ तर्फका त्यति वटा अङ्क हटाउनु पर्दछ । अर्थात् यस खण्डमा १४ अङ्क मात्र अटाउने भएकोले दायाँबाट क्रमशः हुने १४ वटा अङ्कलाई उल्लेख गर्नु पर्ने छ । उदाहरणका लागि ०७२-३१२-१३७९२/४३२७९६ नम्बरको नेपाली नागरिकता वा नाबालक परिचयपत्र भएको निवेदकले जम्मा १४ वटा मात्र नम्बर अट्न सक्ने खाली कोठा भएको भागमा ३१२१३७९२४३२७९६ मात्र भर्नु पर्नेछ ।
(८) Date of Issue/जारी मितिः नागरिकता/नाबालिग परिचयपत्र जारी भएको मिति विक्रम संवतमा उल्लेख गर्ने । प्रतिलिपि नागरिकता लिएको भए उक्त नागरिकतामा उल्लेखित जारी मिति अर्थात् सुरुमा नागरिकता जारी गरेको मिति उल्लेख गर्नुपर्ने छ ।
(९) Place of Issue/जारी भएको स्थानः नागरिकता प्रमाणपत्र/नाबालिग परिचयपत्र जारी भएको जिल्लाको नाम लेख्नु पर्ने । सुरु नागरिकता लिएको बाहेक अन्य जिल्लाबाट प्रतिलिपि नागरिकता लिएको भएमा पनि सुरुमा जुन जिल्लाबाट नागरिकता जारी गरेको हो सोही स्थान उल्लेख गर्नुपर्ने छ ।
विदेशमा जन्मिएका नेपाली बाबुआमाका नवजात सन्तानको नाबालिग परिचयपत्र नबनाएको भएमा दूतावासबाट उपलब्ध जन्म दर्ता वा अस्थायी नम्बर, मिति तथा नेपाली कूटनीतिक नियोग रहेको सहरको नाम उल्लेख गर्नु पर्दछ ।
(१०) National Identity No/राष्ट्रिय परिचयपत्र नम्बरः राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्ने ।
(११) Latest Passport or Travel Document No./पछिल्लो राहदानी वा यात्रा अनुमतिपत्र नं. :- पहिले राहदानी वा यात्रा अनुमतिपत्र लिएको भए सो को नम्बर लेख्ने । पहिले एक भन्दा बढी राहदानी/यात्रा अनुमतिपत्र लिएको भएमा पछिल्लो राहदानी/यात्रा अनुमतिपत्रको नम्बर उल्लेख गर्नुपर्ने छ । तर हस्त लिखित राहदानी मात्र छ भने सो को नम्बर लेख्नु पर्दैन ।
(क) Date of Issue A.D./जारी भएको मिति ई. सं. :- पछिल्लो राहदानी वा यात्रा अनुमतिपत्र जारी भएको मिति ।
(ख) Place of Issue A.D./जारी भएको स्थान :- पछिल्लो राहदानी जारी स्थान लेख्ने । जिल्ला प्रशासन कार्यालयबाट जारी भएकोमा जिल्लाको नाम, ईलाका प्रशासन कार्यालयबाट जारी भएको भए इलाकाको नाम, राहदानी विभागबाट जारी भएको भए राहदानी विभाग तथा विदेश स्थित नियोगबाट जारी भएको भए नियोग रहेको स्थान उल्लेख गर्ने ।
(१२) Address/ठेगानाः निवेदकको नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रमा उल्लेख भएको वा बसाइ सराइ गरेको भएमा सोही अनुसारको नेपालको ठेगाना उल्लेख गर्ने । बसाइँ सराइ गरी ठेगाना परिवर्तन भएकोमा बसाइँ सराइको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नु पर्ने छ । विवाहित महिलाको हालको ठेगाना कायम गर्दा विवाहदर्ता पेस गर्नु पर्ने छ ।
ठेगाना अन्तर्गतका उप-खण्डहरू (12A., 12B., 12C., 12D., 12E. र 12F.) भर्दा माथि उल्लेख भए अनुसार प्रदेश, जिल्ला, पालिका, वडा नम्बर, टोल वा गाउँको नाम र घर नम्बर वा ब्लक नम्बर भएमा सो समेत क्रमै सँग लेख्नु पर्नेछ । तर घर नम्बर वा ब्लक नम्बर नभएमा उक्त स्थान खाली छाड्न सकिनेछ ।
(१३) Email/इमेल: आवेदकको इमेल ठेगाना उल्लेख गर्नुपर्ने ।
राहदानी तयार भएको वा अस्वीकृत भएको जानकारी इमेल मार्फत गराइने भएकोले उपलब्ध भएसम्म आफ्नो इमेल लेख्नु होला ।
(१४) Phone No./फोन नं.: आवेदकको फोन नं. उल्लेख गर्ने । आवेदक विदेशमा भएमा उक्त स्थानमा आवेदकको फोन उल्लेख गर्न सकिने छ तर यसमा Country Code राख्न भने मिल्दैन । विकल्पका रूपमा परिवारका अन्य सदस्य वा नजिकका व्यक्तिको फोन नम्बर राख्न सकिने छ । यो फोनमा राहदानी तयार भएको वा अस्वीकृत भएको जानकारी गराइने छ ।
(१५) Father’s Full name/बाबुको नाम, थरः- नेपाली नागरिकता प्रमाणपत्रमा उल्लेख भए अनुसारको आफ्नो बाबुको पूरा नाम, थर उल्लेख गर्ने ।
(१६) Mother's Full name/ आमाको नाम, थरः- नेपाली नागरिकता प्रमाणपत्रमा उल्लेख भए अनुसारको आफ्नो आमाको पूरा नाम, थर उल्लेख गर्ने ।
(१७) Contact details in case of Emergency/जरुरी परेमा सम्पर्क गर्ने विवरणः-
(आफू विदेशमा रहेको अवस्थामा कुनै अप्ठेरो परेको तर आफूले खबर गर्न नसकिने अवस्था (जस्तै दुर्घटनामा परी बेहोस भएको) मा राहदानीमा भएको जानकारी लिई आफन्त(जस्तै श्रीमान्/श्रीमती, आमा/बाबु) लाई खबर गर्न सकियोस् भन्ने उद्देश्यले यो विवरण राख्नु पर्दछ । यसमा सकभर नेपालमा रहने आफन्तको विवरण राख्नु उपयुक्त हुन्छ ।)
(क) Full Name/नाम, थरः खबर गर्ने व्यक्तिको पुरा नाम थर ।
(ख) ठेगाना अन्तर्गतका उप-खण्डहरू (17C., 17D., 17E., 17F., 17G. र 17H.) भर्दा माथि उल्लेख भए अनुसार प्रदेश, जिल्ला, पालिका, वडा नम्बर, टोल वा गाउँको नाम र घर नम्बर वा ब्लक नम्बर भएमा सो समेत क्रमै सँग लेख्नु पर्नेछ । तर घर नम्बर वा ब्लक नम्बर नभएमा उक्त स्थान खाली छाड्न सकिनेछ ।
(१८) Email/इमेल: जरुरी परेमा सम्पर्क गर्ने व्यक्तिको इमेल उल्लेख गर्नुपर्ने ।
(१९) Phone No./फोन नं.: जरुरी परेमा सम्पर्क गर्ने व्यक्तिको फोन नं. उल्लेख गर्ने ।