नेपालमा आवेदन दिँदा आवश्यक कागजातः नेपालबाट राहदानीका लागि आवेदन दिँदा निम्न कागजात आवश्यक पर्छन् ।
(१) फाराम भरे पश्चात् प्राप्त बारकोड तथा QR कोड सहितको फारामको प्रति (सकभर छापिएको र सो नभएमा डिजिटल तर सोको Screenshot होइन)
(२) नेपाली नागरिकता प्रमाणपत्र वा नाबालक परिचयपत्रको सक्कल प्रति।
(नाबालकहरुका लागि राहदानी विभागबाट पहिलोपटक आवेदन दिँदा सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालक परिचयपत्र प्रमाणीकरणका साथै नाबालक परिचयपत्र बाहकको आमा बुबाको नागरिकताको प्रमाणपत्रको प्रति समेत ल्याउनु पर्नेछ।)
(३) हालको राहदानी सक्कल प्रति (भएमा मात्र)
(४) राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र आवेदन गरि नम्बर सहित प्राप्त भएको कागजातको प्रमाण।
(५) राजश्व दस्तुर बुझाएको बैंक भौचर वा नगदी रसिद
(६) आवश्यकता अनुसार थप कागजात
राहदानी बनाउन थप कागजातः
१. नागरिकतामा रहेको जन्म मिति भन्दा शैक्षिक योग्यतामा भएको जन्म मिति फरक परेमा र शैक्षिक योग्यता अनुसारको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने भएमा एसएलसी/एसईई वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र।
२. नागरिकतामा रहेको जन्म मिति भन्दा भारतीय वा ब्रिटिस वा सिङ्गापुर पेन्सन पट्टाको जन्म मिति फरक परेमा र पेन्सन पट्टा अनुसारको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने भएमा भारतीय वा ब्रिटिस वा सिङ्गापुर पेन्सनपट्टा (Discharge Certificate) प्रमाणपत्रलाई उल्लेख गरि जिल्ला प्रशासन कार्यालयबाट सो बिषय उल्लेख गरि जारी गरेको पत्र।
३. विवाहित महिलाले नागरिकतामा रहेको थरको अतिरिक्त पतिको थर कायम गरी राहदानी बनाउनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र,
४. सम्बन्ध-विच्छेद गरेका महिलाहरूले नागरिकतामा उल्लेख गरिएको थर मात्र कायम गरी राहदानी लिन चाहेमा सम्बन्ध-विच्छेदको प्रमाणपत्र।






