विदेशमा आवेदन दिँदा आवश्यक कागजातः विदेशबाट राहदानीका लागि आवेदन दिँदा निम्न कागजात आवश्यक पर्छन् ।
(१) फाराम भरे पश्चात् प्राप्त बारकोड तथा QR कोड सहितको फारामको प्रति (सकभर छापिएको र सो नभएमा डिजिटल तर Screenshot होइन)
(२) नेपाली नागरिकता वा नाबालक परिचयपत्रको सक्कल प्रति
(३) हालको राहदानी (सक्कल प्रति)
(४) दस्तुर बुझाएको बैंक भौचर वा नगदी रसिद
(५) आवश्यकता अनुसार थप कागजात
विदेशमा जन्मिएका नेपाली आमा-बाबुका सन्तानको पहिलो पटक राहदानीका लागि आवेदन दिने विशेष व्यवस्थाः
जन्म दर्ता वा अस्थायी नम्बर लिनु पर्नेः
नेपाली आमा-बाबुबाट विदेशमा जन्मेका सन्तानको हकमा नाबालक परिचयपत्र नहुने भएकोले दूतावासले जन्म दर्ताको प्रमाणपत्र वा अस्थायी दर्ता नम्बर प्रदान गर्दछ, जुन नम्बर नागरिकता भएको महलमा भर्नु पर्दछ। जसका लागि निम्न अनुसारका थप कागजातहरू आवश्यक पर्छन् ।
(अ) आमा बुबा दुवै जनाको नागरिकताको प्रतिलिपि,
(आ) आमा बुबा दुबैजानाको राहदानीको प्रतिलिपि,
(इ) आमा बुबाको विवाह दर्ताको प्रमाणपत्र,
(ई) नाबालकको जन्म दर्ताको सक्कल प्रति,
(उ) नाबालकको हालै खिचेको पासपोर्ट आकारको फोटो २ प्रति
माथि उल्लिखित कागजात सहित दूतावासमा आवेदन दिए पछि दूतावासले जन्म दर्ता वा अस्थायी नम्बर उपलब्ध गराउनेछ। नाबालकको राहदानीको आवेदन फाराम नागरिकता नम्बरको ठाउँमा दूतावासले उपलब्ध गराएको दर्ता नम्बर उल्लेख गर्नु पर्नेछ।
साथै यसरी एक पटक नाबालकका नाममा राहदानी जारी गरे पश्चात् अर्को पटक राहदानी जारी गर्नका लागि नाबालक परिचयपत्र अनिवार्य हुने भएकोले यसरी राहदानी बनाए पछि अनिवार्य रूपमा नेपालको सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालक परिचयपत्र बनाउनु पर्दछ।
राहदानी बनाउन थप कागजातः
१. नागरिकतामा रहेको जन्म मिति भन्दा शैक्षिक योग्यतामा भएको जन्म मिति फरक परेमा र शैक्षिक योग्यता अनुसारको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने भएमा एसएलसी/एसईई वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र।
२. नागरिकतामा रहेको जन्म मिति भन्दा भारतीय वा ब्रिटिस वा सिङ्गापुर पेन्सन पट्टाको जन्म मिति फरक परेमा र पेन्सन पट्टा अनुसारको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने भएमा भारतीय वा ब्रिटिस वा सिङ्गापुर पेन्सनपट्टा (Discharge Certificate) प्रमाणपत्रलाई उल्लेख गरि जिल्ला प्रशासन कार्यालयबाट सो बिषय उल्लेख गरि जारी गरेको पत्र।
३. विवाहित महिलाले नागरिकतामा रहेको थरको अतिरिक्त पतिको थर कायम गरी राहदानी बनाउनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र।
४. सम्बन्ध-विच्छेद गरेका महिलाहरूले नागरिकतामा उल्लेख गरिएको थर मात्र कायम गरी राहदानी लिन चाहेमा सम्बन्ध-विच्छेदको प्रमाणपत्र।






